NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

परिचय

आ व ०८०।०८१ को बजेट बक्तव्यमा राष्ट्रिय सूचना प्रविधि केन्द्र खारेज गरी सो सम्बन्धि कार्य सूचना प्रविधि विभागले गर्ने विषय उल्लेख भएको र सोको कार्यान्वयनका लगि नेपाल सरकार मन्त्रिपरिषदको मिति 2080/१०/०९ गतेको निर्णय बमोजिम सूचना प्रविधि विभाग मातहत रहनेगरी एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) को संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत भै यस केन्द्रको स्थापना भएको हो । एकीकृत डाटा व्यवस्थापन केन्द्र नेपाल सरकारको सूचना प्रविधि क्षेत्रको विकास र प्रबर्धन गर्न,नेपालमा सूचना प्रविधिको प्रयोगको विस्तारले सरकारको सूचना प्रणालीको निर्भरतालाई सम्बोधन गर्न, सूचना तथा सञ्चार प्रविधिको प्रयोगको निरन्तर विकास एवं विस्तारबाट उपयुक्त अवसर सिर्जना गर्न तथा नीतिगत /संस्थागत चुनौतीहरु सम्बोधन गर्ने उद्देश्यका साथ स्थापना भएको हो।

मिति २०८१।०१।२० को मन्त्रिपरिषद्‌ बैठकबाट राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश, २०५८ र सो बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र संवत् २०८१ साल साउन १ गतेदेखि लागू हुने गरी खारेज गरिएकोले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सम्पादन हुदै आएका कार्यहरु सूचना प्रविधि विभाग मातहत संचालनमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) ले गर्ने व्यवस्था गरिएको छ । निजामति सेवाका कुल ५९ पद रहने गरी स्वीकृत भएको यस केन्द्र र मातहतमा गरी ४३ जना प्राविधिक र १६ जना प्रशासनिक पद रहेका छन ।

यस केन्द्रले सरकारी कार्यालयहरूमा रेकर्डको कम्प्यूटरीकरण गर्न र सामग्रीहरूको विकास र विस्तारमा मद्दत गर्दछ। नेपाल सरकारका लागि एक कार्यान्वयन गर्ने निकाय भएकोले एकीकृत डाटा व्यवस्थापन केन्द्र(राष्ट्रिय सूचना प्रविधि केन्द्र) ले विद्युतिय सरकार कार्यान्वयनको लागि केन्द्र बिन्दुको रुपमा काम गर्दछ। साविकको सरकारी एकीकृत डाटा केन्द्र सन् २००९ मा कोरियाली सरकारको अनुदानमा निर्माण भै स्थापना भएको परियोजना हो। हाल नेपाल सरकारका मन्त्रालय, विभाग तथा निकायहरुका लागि एक मात्र आधिकारिक सरकारी डाटा केन्द्रको रुपमा यसले कार्य गर्दछ र यसको डिजास्टर रिकभरी कार्यालय हेटौडामा संचालनमा रहेकोछ।

एकीकृत डाटा व्यवस्थापन केन्द्र(राष्ट्रिय सूचना प्रविधि केन्द्र)ले सरकारी एकीकृत ईमेल प्रणालीको सञ्चालन, व्यवस्थापन तथा प्राविधिक सहायता उपलब्ध गराउने, सरकारी निकायहरुको domain registration देखि वेभसाईट होस्टिङ सम्मको सम्पूर्ण कार्य गर्ने, सरकारी निकायहरुको विद्युतीय सेवालाई आवश्यक पर्ने सूचना प्रविधि पूर्वाधारहरु उपलब्ध गराउने, सिंहदरबार नेटवर्क पूर्वाधारको सञ्चालन/व्यवस्थापन गर्ने , सरकारी डाटा व्याकअप सम्बन्धी कार्य गर्ने , सरकारी निकायहरुमा परामर्श तथा प्राविधिक सहायता उपलव्ध गराउने लगायतका कार्य गर्दछ ।